News Griha :: न्यूजगृह
नक्कली नोटको भिडिओ देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं— नक्कली नोटको भिडिओ देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई काठमाडौं स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडिओ देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फर्किएनन् ।

त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्वयम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।

लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ र एक थान मोबाइल बरामद गरेको छ ।            

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०७:१४
Weather Update