News Griha :: न्यूजगृह
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद

काठमाडौं— विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।

उनीबाट १६ लाख ६९ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना समेत भराउन पनि विदेश अदालतले आदेश दिएको छ । विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्रप्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला गरेको छ ।

आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ । उनीहरूमाथि तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

अख्तियारले २०७६ फागुन २० मा सिन्धुली दुधौलीका समादेशक शाहसहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशवसिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

२०७२ वैशाख २७ गते प्रहरी जवानको भर्ना खोलिएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाउँबाट तलब भत्ता खानेगरी उनीहरूको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरूले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

२०४६ माघमा प्रहरी सेवामा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:०९
Weather Update