
काठमाडौं— प्रतिनिधि सभामा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको विषयले प्रवेश पाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ कि छैन भनेर प्रश्न गरेका थिए ।
सांसद गैरेले भारत भ्रमण अघि नै कालापानीको विषयमा कुरा हुन्छ कि हुन्न भन्ने कुरा स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए । मुलुकको आर्थिक संकट समाधानका लागि समान धारणा बनाउनुपर्ने भन्दै उनले सङ्क्रमणकालीन न्यायको मुद्दा अघि बढाउँदा पीडितले न्याय र पीडकले दण्ड पाउनुपर्ने बताए । उनले भने, 'देशमा आर्थिक सङ्कटको हल्ला के हो ? भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि के–कस्ता पहल भइरहेका छन्, सदनलाई जानकारी चाहियो ।'
यसैगरी, नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएका छन् । ठगी घटनामा पूर्व गृहमन्त्री, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, एमाले नेता टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप रायमाझीको समेत नाम आएको भन्दै पाण्डेले अपराधीलाई कारबाही गर्नुपर्ने बताएका थिए । '८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै १० लाखदेखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ । त्यसमा कसले उठायो भन्दा पूर्व गृहमन्त्री, उहाँको सुरक्षा सल्लाहकार इन्द्रजीत राई, एमाले नेता टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझीसमेतको नाम आएको छ', सांसद पाण्डेले भने, 'पत्रपत्रिकाले डेढ डेढ करोडको चेक काटेको प्रष्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण काम भएका छन् । यी सबै अपराधीलाई कडाइका साथ कारबाही गर्ने सरकारले तत्काल छानबिन गरोस् ।'
पाण्डेको उक्त अभिव्यक्तिप्रति एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाउँदै सांसदलाई अपराधी भनेकाले रेकर्डबाट हटाउन माग गरेका थिए । 'माननीयज्यूले सदनमा आफ्नो विचार राख्ने क्रममा यही सदनको अर्को प्रतिनिधि सभा सदस्य माननीयलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ । यो संसद्को विद्यमान नियमावलीको मर्मविरीत छ । बोल्न नपाइने अभिव्यक्ति दिनु भएको छ । यसले संसदीय मर्यादा कायम हुन सक्दैन । पत्रपत्रिकामा के कुरा आयो, त्यो एउटा विषय हो', प्रमुख सचेतक गिरीले भने, 'त्यो छानबिन गर्ने आफ्नो प्रक्रिया छ, छानबिन गर्नुपर्छ । जो कसैलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ, त्यो राज्यको दायित्व हो, त्यो काम गरोस् ।'
प्रमुख सचेतक गिरीले पत्रपत्रिकामा कसैको नाम आएकै भरमा अपराधी करार गर्न नपाइने बताएका थिए । उनले भने, 'पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता, माननीय सांसद वा व्यक्तिलाई अपराधी करार गर्न पाइँदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ । यो रेकर्डबाट हटाइयोस् ।'
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति कमजोर देखिएको र सदनमा उठाइएका कतिपय महत्त्वपूर्ण विषय पनि सम्बोधन नभएको बताएका छन् । 'राष्ट्रिय गौरवका बुढी गण्डकीको बजेट अरू आयोजनाका लागि नपठाइयोस्', उनले भने, 'वैशाखभित्रै बुढी गण्डकीको शिलान्यास होस् र नेताहरूले चुनावका बेला गोर्खाका विभिन्न सडक कालोपत्रे गर्ने भने पनि हालसम्म त्यो पूरा भएको छैन ।'
यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विपन्न र दुर्गम क्षेत्रका जनताले सङ्घीयता र गणतन्त्रको लाभ प्राप्त गर्न नसकेसम्म उपलब्धिको रक्षा गर्न चुनौती हुने बताए । उनले भने, 'प्रतिगमनको चिच्याहटले परिवर्तनको पाइला रोकिन्न । शान्ति–सम्झौताको सम्पूर्ण काम पूरा गरेर पीडितको घाउमा मलम लगाउनुपर्छ ।'
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि राजनीतिका क्षेत्रमा महिलाले पुर्याएको योगदानको कुनै लेखाजोखा नै नभएको टिप्पणी गरे । परिवर्तनमा महिलाको ठूलो योगदान भए पनि त्यसअनुसार अवसर र जिम्मेवारी पाउन नसकेको उनको भनाइ थियो । महिलाको योगदानबारे अनुसन्धान गरी दस्ताबेज तयार पारेर पाठ्यक्रममा समावेश गरिनुपर्ने समेत उनले बताइन् ।
यस्तै, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले नवलपरासीमा कैयौँ नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र नपाएर दुःख, कष्ट झेल्नुपरेको उल्लेख गरे । उनले किसानले मलखाद र सिँचाइको समस्या भोग्नु परेकाले ती समस्या सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए ।
जसपाका दीपक कार्कीले धनुषा धाम गुरुयोजनालाई कार्यान्वयनमा ल्याउन सके त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने बताए । उनले भने, 'धनुषालगायत अन्य जिल्लामा सिँचाइ गर्न कमला सिँचाइको क्षमता कमजोर भएकाले सुनकोसी–कमला डाइभर्सन बहुउद्देश्य आयोजनालाई तत्कालै अघि बढाइयोस् ।'













