
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
उनकाअनुसार प्रधानमन्त्री दाहालले युगान्डाको राजधानी कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औं सम्मेलनमा भाग लिनेछन् ।
सो अघि माघ ३—४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागि हुनेछन् ।
त्यस्तै, बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित सय मिलियन डलर (करिब १३ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धी दस्ताबेजलाई अन्तिमरूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय भएको छ।