
काठमाडौं— रामबहादुर बम्जन गाडीका सौखिन रहेको पाइएको छ । उनले एउटा गाडी चढिरहेका थिए भने अर्को किन्ने क्रममा थिए । साथै उनले ४ वटा त मोटरसाइकल मात्र चढ्ने गर्दथे ।
बम्जनले लुलाराम तामाङको नाममा रहेको टोयोटा फर्चुनर प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै बम्जनका लागि ५ करोड रुपैयाँ पर्ने ल्यान्ड क्रुजर एक्सएल गाडी खरिदको प्रक्रियामा रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
उक्त गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ । ५ करोडमध्ये ३ करोड रुपैयाँ बुझाइसकिएको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यसैबीच सीआईबीले पत्रकार सम्मेलनमा बम्जनसहित उनले चढ्ने गाडी पनि सार्वजनिक गरेको छ । त्यसैगरी उनले क्रस फायर बाइक, यामाहा रे जेडआर स्कूटरसमेत ४ वटा मोटरसाइकल पनि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।