
काठमाडौं— प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एअरलाइन्स र बुद्ध एअरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।
दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एअरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।
बुद्ध एअर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए । उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एअरले जनाएको छ ।
धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एअरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।













