
काठमाडौ— काठमाडौं महानगरपालिकाको १४औं नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार बुधबारदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने पर्ने हो । तर, अन्तिम समयमा आएर बैठक स्थगन भएको छ ।
बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ ।
कार्यपालिकामा बहुमत रहेका नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण निर्धारित मितिमा हुनुपर्ने नगरसभाको बैठक स्थगित भएको महानगर स्रोतले जानकारी दिएको छ । तीन जना कर्मचारीले अनियमितता गरेको भन्दै मेयर बालेन्द्र सहले निलम्बन गरेर छानबिन समिति बनाएपछि कांग्रेस निकटका जनप्रतिनिधि रुष्ट छन् ।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै केही समय अघि महानगरका तीन कर्मचारी निलम्बनमा परेका थिए । त्यसरी निलम्बनमा पर्ने कर्मचारीमा मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् ।
त्यस्तो अनियमितता फेला परेपछि महानगरले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ भने निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ ।
समितिको रिपोर्ट कहिले आउने हो अझै निश्चित छैन । कांग्रेस निकट जनप्रतिनिधिले भने कर्मचारीको निलम्बन फिर्ता लिन भित्री रुपमा दबाब दिने उद्देश्यले बैठकहरू मै उपस्थित नहुने, भित्री रुपमा अवरोध गर्ने जस्ता कार्य गर्न थालेका छन् ।
पछिल्लो समय मुख्य गरेर महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीनराज मानन्धरको अगुवाइमा कांग्रेसका अन्य जनप्रतिनिधिलाई पनि उकास्ने र बैठक बहिष्कार गर्ने रणनीति अघि बढाएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
उपमेयर सुनिता डंगोल संयोजक रहेको १३ सदस्यीय बजेट तर्जुमा समितिमा कांग्रेसका बहुमत सदस्य छन् । समितिमा कांग्रेसका ८ नेकपा समाजवादीका १ र बाँकी एमालेका सदस्य छन् ।
उपमेयर डंगोलले दुई पटक समितिको बैठक राखे पनि एउटा बैठकमा वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार उपस्थित भए पनि अर्को बैठकमा भने कांग्रेसका कोही पनि उपस्थित भएनन् ।
तण्डुकार कांग्रेसका तर्फबाट विजयी अध्यक्ष हुन् । बैठकमा कांग्रेस बाहेकका सदस्य उपस्थित थिए । तर, बहुमत सदस्य उपस्थित नभएपछि त्यहाँ अनौपचारिक छलफल मात्रै भएको र निर्णय केही पनि गर्न नसकिएको स्रोतले जानकारी दिएको छ ।
३२ वटा मध्य कांग्रेसले १९, एमालेले १२ र समाजवादीले १ वटा जितेको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि अहिले कांग्रेसका १८ वडाध्यक्ष छन् । कार्यपालिकामा समेत कांग्रेसकै बहुमत रहेकाले उनीहरु उपस्थित नभएको अवस्थामा वा निर्णय प्रक्रियामा सहभागी नभएको खण्डमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्न सकिँदैन ।
वडा नम्बर ८ का वडाध्यक्ष आसमान सङ्गतले औपचारिक जानकारी बिना नगरसभा स्थगित भएको बताए । सङ्गतले कांग्रेस जनप्रतिनिधिको बहिष्कार भन्ने विषयमा अनावश्यक हल्ला चलाएको बताए ।













