
काठमाडौं— अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ५२ गन्तव्यमध्ये ३७ नम्बरमा नेपालको मुस्ताङ जिल्लालाई पनि समावेश गरेको छ ।
न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ५२ गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको छ ।
हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको थियो ।
मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।
मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धाम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।
यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको बाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास भएको पाइन्छ ।
गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दु धर्म प्रति आस्थावान देखिन्छन् । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औं स्थानमा छ ।