News Griha :: न्यूजगृह
बम्जनको घरबाट साढे ३ करोड नगद बरामद

काठमाडौं— हत्या र यौनहिंसाका आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।

बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।

सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।


 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:२५
Weather Update