News Griha :: न्यूजगृह
बलात्कारी सन्दीपविरुद्ध आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने

काठमाडौं— बलात्कारी सन्दीप लामिछानेमाथि बुधबार सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।
तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो । इजलासले काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ । 

अदालतले पीडित भनिएकी गौशला– २६ लाई नाबालिग नरहेको ठहर गरे पनि उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर लामिछानेले करणी गरेको फैसलामा उल्लेख छ । अदालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ । 

यस्तै, उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ ।यस्तोमा सन्दीपलाई कम्तिमा ७ र बढिमा १० वर्ष जेल सजाय तोकिने छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:२२
Weather Update