
काठमाडौं— सवारी दुर्घटनामा मृत्यु भएका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले शहीद घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका वाग्लेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
मिटरब्याज विरोधी अभियान सञ्चालन गर्दै आएका वाग्लेको २०७७ माघ २१ गते राति सर्लाहीको बरहथवा जङ्गलमा सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए ।
प्रहरीले वाग्ले सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरे पनि परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको मृत्यु भएको दाबी गर्दै आएका छन् ।
स्थानीय प्रहरीले घटनाको एक वर्षपछि दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरिएको बताएको थियो। तर, वाग्ले परिवारले त्यसलाई अझै दुर्घटनाका रुपमा स्वीकारेका छैनन् । उनीहरु घटनालाई रहस्यमय बताइरहेका छन् ।
घटनाको सीआईबीले पनि छानविन गरेको थियो । तर, सीआईबीको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन। वाग्लेको रहस्यमय मृत्युको माओवादी केन्द्रले पनि छानविन गरेको थियो । माओवादीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी संयोजक रहेको छानविन समितिले पनि वाग्लेको मृत्युलाई रहस्यमय बताएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध पाँच राजनीतिक दलले बरहथवामा आयोजना गरेको राँके जुलुससहितको विरोध सभालाई सम्बोधन गरेर एक्लै मोटरसाइकलमा घर फर्कने क्रममा एकान्त जङ्गलमा सवारी दुर्घटनामा परेर उनको मृत्यु भएको थियो ।













