News Griha :: न्यूजगृह
वर्षा र हिमपात नहुँदा सुक्दै हिउँदे बाली, चिन्तामा किसान

मुगु— हिमाली जिल्ला मुगुलगायत जुम्ला, हुम्ला डोल्पा र कालीकोटमा यस वर्ष अपेक्षित रुपमा वर्षा र हिमपात भएको छैन । यसले गर्दा कृषकले लगाएका जै, गहुँ लगायत अन्य हिउँदे बाली सुक्दै गएका छन्  ।

मौसमको प्रतिकूलताले बाली उत्पादनमा नकारात्मक असर परेपछि कृषकहरू आउँदो वर्ष भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

ती क्षेत्रमा खेतीयोग्य जमिन भिरालो भएकाले सिँचाइ पर्याप्त हुँदैन । आकाशे पानीको भरमा रहेका मुगु जिल्लाको खमाले, लमेरा, कोटिला, मुर्मा, सेरी, जाम, पिना, मुन्दु, शोभा, रोवा, बाम, लुम, मह, माग्री, सकम्री, सोरुकोट, धैनकोटलगायत चार दर्जनभन्दा बढी गाउँका किसान चिन्तित छन् ।

लगाएका अन्न बाली सुकेर पहेँला भइसकेका छन् । गत वर्षहरूमा कात्तिक, मंसिर, पुस महिनामा हिउँ परेर सेताम्मे हुन्थ्यो । तर यसपालि पानी नपरेको साथै हिमपात पनि नभएपछि जौ, गहुँ, लगायत बालीमा असर परेको हो । 

यो वर्ष पुस महिनाको तेस्रो साता भइसक्दा पनि हिमपात र वर्षा नहुँदा सबै हिउँदे अन्न बाली सुकेर जान थालेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माका बालकृष्ण रोकाया बताए ।

पानी नपर्दा पशुचौपायालाई चरिचरणका लागिसमेत समस्या भएको छ । चिसोको कारण हावा चल्ने गरेको साथै सुख्खा खडेरीको कारण मानिसमा पनि रुघा खोकी, टाउको दुख्ने, छातीमा समस्या आउने जस्ता समस्या देखिन थालेको छायाँनाथ रारा नगरपालिका–४ का जसबहादुर भामले बताए ।

mugu-1-1704793395.jpg

मुगुमा रहेको खेतीयोग्य जमिनमध्ये ३ हजारभन्दा बढी हेक्टरमा हिउँदे अन्न बाली जौ, गहुँ लगायत लगाउने गरिएको छ । सबैभन्दा बढी भूभाग खेतीका लागि आकाशे पानीको भरमा छन् ।

केही भागमा सिँचाइ गरेर खेती गर्ने भए पनि अधिकांश भागको खेती प्रभावित भइरहेको छ । गर्त वर्षहरूमा मंसिर महिनादेखि नै हिउँ पर्ने भएको समस्या नभएको तर यसपालि भने फरक अवस्था रहेको जिल्ला कृषि विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रचण्ड नकाल देवकोटाले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:२८
Weather Update