
काठमाडौं— चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार खोसेर नागरिकको मुख थुन्न खोजेको भन्दै प्रदर्शन गरेका थिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
‘सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरू धराशायी हुने अवस्थामा छन् । नेताहरूले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीसित साँठगाँठ गरिरहेका छन् । यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधानप्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले विगतमा भएका सहमति पालना गर्नुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल टुङ्गोमा पुर्याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।
मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरू राखिएको प्लेकार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । केसीसहित पवन थापालगायत युवा अभियन्ताहरू प्रहरी नियन्त्रणमा छन्













