News Griha :: न्यूजगृह
बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँ हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ 

काठमाडौं— बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका– ८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।  

गोकर्णेश्वर नगरपालिका– ४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा पक्राउ परेकालाई प्रहरी प्रभाग गोकर्णमा राखिएको छ ।

बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायव निरीक्षक राजेश कार्कीले जानकारी दिए ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार छन् । उनीहरु सबैका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । 

सहकारीका सञ्चालकले सात हजार ७ सय बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समिति अन्तर्गतको  कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:४७
Weather Update