News Griha :: न्यूजगृह
फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, रोकथामका लागि के गर्दै छ सरकार? 

काठमाडौं— छिमकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन=१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।

विभिन्न देशबाट फरक फरक उमेरका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजिटिभ नमुनाहरूमाथि गरिएको परीक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको सबभेरियन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले बताएका छन्।

Prabhu Bank

नयाँ सबभेरिअन्ट भेटिएका व्यक्तिहरू कहाँका हुन्?

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नयाँ सबभेरियन्टको संक्रमण पुष्टि भएका व्यक्तिहरू काठमाडौं, पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन् ।

उनीहरू विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे मन्त्रालयले बुझिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

यद्यपि, संक्रमित मध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको मन्त्रालयका अधिकारीले बताए ।

रोकथामका लागि के गर्दै छ सरकार?

कोरोना भाइरसको नयाँ सबभेरियन्ट भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

उनले भने, ‘हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ ।’

उनका अनुसार नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकोलाई यो सबभेरियन्टले धेरै असर नपार्ने ठानिएको छ । 

कम घातक खालको सबभेरियन्ट भएपनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई धेरै असर पर्नसक्ने भएका निगरानी बढाउन आवश्यक रहेको उनको भनाई छ  ।

बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ । 

जेएन.१ भेरियन्ट के हो?

विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भएपनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ ।

उसले निगरानी गरिरहेको यो भेरियन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो । तीव्र सङ्क्रमण दर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन् । 

यो भेरियन्टअहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरियन्ट देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिम दर कम रहेको जनाएको छ । यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्ने तर्फ सचेत गराएका छन् ।  

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने विज्ञको भनाई छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:३७
Weather Update