
काठमाडौं— महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते छन् ।
महोत्तरी प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन् ।
दुर्घटनामा गम्भीर घाइते दुवैजना लाई बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाइँ र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते छन् । उनीहरूको उपचार जारी छ ।













