News Griha :: न्यूजगृह
राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी आज

काठमाडौं—  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरुद्ध मंगलबार उजुरी दिन सकिनेछ । 

निर्वाचन आयोगले आज उम्मेदवारहरू विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने जनाएको हो । 

निर्वाचन आयोगका अनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । उनीविरुद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ ।  

पुसको २७ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ। र, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले बताएको छ ।

ती उम्मेदवारहरूलाई पुस २८ गते चुनाव चिह्न दिइने छ । 

माघ ११ गते हुने निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएको छ ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ। निर्वाचनमा सात प्रदेशबाट महिला, दलित, अपाङ्गता/अल्पसङ्ख्यक र अन्य क्लस्टरबाट सदस्य निर्वाचित गरिने छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ। १९ सांसद विभिन्न क्षेत्रबाट निर्वाचित भएका हुन् भने एकजना राष्ट्रपतिबाट मनोनीत भएका हुन् । 

रिक्त हुन लागेको १९ पदमा एक महिनाअगावै चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०८:४५
Weather Update