News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या, बैङ्कक उड्न लागेका १५२ यात्रु विमानस्थलमा अलपत्र

काठमाडौं— एक सय ५२ यात्रु लिएर काठमाडौंबाट बैङ्ककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार, निगमको आरए-४०१ उडान नम्बरको न्यारोबडीले दुईपटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ ।

‘पहिलोपटक साढे दुई बजे उड्नका लागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने,‘दोस्रोपटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ वे नम्बर ६ मा राखिएको छ ।’

निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै उड्ने टुंगो लागिसकेको छैन । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी प्राप्त भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:१८
Weather Update