
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिकबाट सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ संलग्न अडिओ काण्डबारे सभापति रवि लामिछानेले दिएको ७२ घण्टे अल्टिमेटम सकिएको छ ।
यसबारेमा रास्वपाका प्रवक्ता डा. मुकुल ढकालसँग जिज्ञासा राख्दा उनले सभापति ट्राफिक जाममा अड्किएकाले छलफल हुन बाँकी रहेको जानकारी दिए ।
उनले भने, ‘उहाँ (सभापति रवि लामिछाने) चितवनमा हुनुहुन्थ्यो । त्यहाँबाट आज छलफलको लागि काठमाडौं आउँदै हुनुहुन्छ । ट्राफिक जामले गर्दा बाटो मै अड्किनु भएको छ । उहाँ आउने बित्तिकै छलफल गरी पत्रकार सम्मेलन गर्नेछौँ ।’ तर प्रवक्ता ढकालले सभापति रवि कताको जाममा अडकिए भनेर जानकारी भने दिएनन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सांसद श्रेष्ठले दुई करोड बार्गेनिङ गरेको समाचार आइतबार सार्वजनिक भएको थियो । त्यसपछि आइतबार नै बारा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति रविले अडिओबारे जानकारी पाएको र ७२ घण्टाभित्र सत्यतथ्य पत्ता लगाउन छानबिन सुरु गर्न निर्देशन दिइसकेको तथा दुई घण्टा बितिसकेको बताएका थिए । समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गरेको छ । श्रेष्ठको अडिओबारे रास्वपाले बुधबार धारणा सार्वजनिक गर्ने निर्णय मंगलबार गरेको थियो ।













