तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं— सुनसरी प्रहरीले तीन क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन् ।
सुनसरी प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजासहित दुई जनालाई आइतबार राति कोशी गाउँपालिका– ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो ।
को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । ८ वटा बोरामा राखिएको गाँजाका साना पोकाहरूमा पनि बरामद भएको प्रहरी भनाइ छ ।
भोजपुरबाट सप्तकोशीको जलमार्ग हुँदै गाँजा सुनसरी ल्याइपुर्याएको प्रहरीको भनाइ छ । ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १४:३९













