News Griha :: न्यूजगृह
पाकिस्तानको खैवर पख्तुनख्वामा शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २७ घाइते
Photo: Dawn News TV

काठमाडौं— पाकिस्तानको खैवर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि २७ जना घाइते छन् ।

बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो । घाइतेहरूलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमामा पाकिस्तानमा आक्रमण बढेको छ । अहिलेसम्म कुनै पनि आतङ्कवादी सङ्गठनले यस हमलाको जिम्मेवारी लिएको छैन ।

यसअघि आइतबार पनि पाकिस्तानको खैवर पख्तुनख्वामा भएको आतङ्कवादी हमलामा चार जनाको मृत्यु भएको थियो ।

अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। पाराचिनारबाट पेसावर जाने बाटोमा आक्रमण भएको हो । हालसम्म कुनै पनि आतङ्कवादी सङ्गठनले उक्त हमलाको पनि जिम्मेवारी लिएको छैन । यद्यपि, यो क्षेत्र सिया र सुन्नीहरू बीचको साम्प्रदायिक हिंसाका लागि पनि परिचित छ ।

सन् २०२३ मा पाकिस्तानको खैवर पख्तुनख्वामा ४ सय १९ आतङ्कवादी हमला भएको थियो । उक्त हमलामा ६ सय २० जनाको मृत्यु भएको थियो । मारिनेमा ३०६ सुरक्षाकर्मी, २२२ सर्वसाधारण र ९२ आतङ्ककारी थिए ।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:२२
Weather Update