
काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच करिब नौ महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेन कै कार्यकक्षमा पुगेर भेट गरेका थिए ।
त्यसअघि उनीहरूबीच सामाजिक सञ्जालमा नोकझोक चलिरहेको थियो । छेडछाड चलिरहन्थ्यो । हिजोआज उनीहरूको दोस्ती जमेको छ । जब उनीहरूबीच पहिलो भेट भयो दुवैले विकास र सहकार्यका विषयमा छलफल गरे । त्यसयता बालेन र हर्कबीच बाक्लै उठबस चलिरहेको छ । हरेक पटक काठमाडौं उत्रिएपछि हर्कको सेड्युलमा बालेनसँगको भेट छुट्दैन ।
स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेर विजयी भएका उनीहरुबीचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ । १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा बालेनको उपस्थितिले धरानवासी आश्चर्यमा परे । हत्तपत्त सार्वजनिक कार्यक्रमहरूमा नदेखिने बालेन धरान पुग्नुलाई रोचक एवं अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अर्थ्याउने गरेका छन् । केही साताअघि बालेनसँगको भेटपछि हर्कले यस्तै खाले अभिव्यक्ति दिएका थिए । हर्कले भनेका थिए, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ ।’ त्यतिमात्रै होइन ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ?’ भनेर प्रश्न पनि गरेका थिए । हर्कले सामाजिक सञ्जाल मै लेखेका थिए, ‘जित हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन् विशाल बन्छौँ धन्दै नमान !’
हुन त उनीहरूका गतिविधि हेर्दा र अभिव्यक्ति सुन्दा नयाँ दल खोलिहाल्ने अवस्थाको देखिदैन । शीर्ष दलमा भित्रिहाल्छन भन्ने अनुमान लगाउन पनि सकिदैन । तर स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिइसकेका छन् ।
नेपालमा पुराना र स्थापित भनिएका राजनीतिक दल र संघीय सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका हर्क र बालेनले नयाँ दल खोले भने अनौठो मान्न नहुने विश्लेषक एवम् लेखक लाओस राई बताउँछन् ।
‘दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु अनौठो होइन तर सिद्धान्त र दिगोपना प्रमुख कुरा हो । बालेन र हर्कसँग जनमत होला तर नेपालको राज्य व्यवस्था र अहिलेको परिपाटीसँग जुधेर कसरी अघि बढ्न सक्छन् भन्ने कुरा प्रमुख हो,’ उनी भन्छन् ।
उपमहानगरको निम्तोमा पहिलो पटक धरानको सार्वजनिक कार्यक्रममा उत्रिएका बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंसा गरेका थिए । साथै उनले हर्कले जारी राखेको श्रमदानलाई विकास निर्माणसँग जोडेको प्रसङ्गलाई तारिफ गरेका थिए ।
कतिपय कानुन, नीति, नियम र ऐनको ख्यालसमेत नगरी परिवर्तनका लागि उत्रिएका बालेन र हर्कको हालको क्यामेस्ट्रीलाई २०८४ को निर्वाचनसम्म नयाँ दलका रुपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ ।
हुन त स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरूले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाईसमेत समेटेर नयाँ दल खोल्ने बारे धेरै गोप्य बैठक भएपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपि, कतिपय विश्लेषकहरूले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।