News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचनमा सिटौलाको उम्मेदवारी दर्ता, भने– ‘राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो’

काठमाडौं— राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले  उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार बिहान उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताए । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताए ।

उनले भने, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरूको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।

सिटौलाले भने, ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक छ । सबै दलहरूबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रूपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु मैले ।’

उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमती भए पनि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरू भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरूलाई र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भरमग्दुर प्रयास गर्छौँ । संयुक्त रूपले एकताबद्ध भएर अगाडि जान्छौँ ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले पार्टीका उम्मेदवार छनौट प्रक्रियाप्रति असहमति जनाएका थिए । थापाले विधि मिचिएको भन्दै दुई बुँदे फरक मत लेखे भने शर्माले मौखिक रुपमा ६ बुँदे विमती राखेका थिए ।

पत्रकारहरूले त्यही विषयमा सिटौलासँग जिज्ञासा राखेका थिए । उनले आफ्नो नाममा पहिल्यै सर्वसम्मति भएपछि आइतबार नै गाडी चढेर विराटनगर आएको र सोमबार बिहान उम्मेदवारी दर्ता गराएको बताए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:०६
Weather Update