News Griha :: न्यूजगृह
जहाँ हिन्दु भएकै कारण देश छोड्नुपर्छ

काठमाडौं— बंगलादेशको राजधानी ढाकाको काजीपारामा एक ब्राह्मण परिवार पुस्तौँदेखि बस्दै आएको छ । उक्त परिवारमा १४ जना छन् ।  ७०० स्क्वायर फिटको दुईतले घरमा पुग्न मुख्य सडकबाट ३० मिटर हिँड्नुपर्छ । लामो साँघुरो गल्ली छ, जसमा तीन ठाउँमा गाईको मासु झुन्ड्याइएको देखिन्छ । काममा जानुअघि घरको एउटा कुनामा बनेको सानो मन्दिरमा परिवारका सदस्यले तिलक लगाउँछन् ।  

परिवारका ६७ वर्षीया मुखियाले संस्कृतमा मन्त्र जप्छन्, जसको लय लगभग बङ्गालीसँग मिल्दोजुल्दो हुन्छ । घरकी जेठी छोरी सृष्टि २७ वर्षकी भइन्, उनी एक कम्पनीको कनिष्ठ एचआर एक्जिक्युटिभ हुन् । घरबाट निस्कने बित्तिकै उनले पहिलो काम तिलक मेटाउने गर्छिन् । अनि मुख्य सडकमा पुग्नेबित्तिकै उनी रिक्सा चालकलाई भाइजान भन्छिन् ।

अपरिचित व्यक्तिले आफू हिन्दु हो भनेर थाहा नपरोस् भनेर पूरा दिन बिताउँछिन् । भन्छिन्, ‘यहाँ हिन्दु हुनु आफैमा सजाय हो । हिन्दु केटी हुनु त झनै ठूलो सजाय हो ।

बंगलादेशमा हिन्दुको जनसंख्या २२ प्रतिशतबाट घटेर ७.९ प्रतिशतमा झरेको छ । यसको कारण राजनीतिक, धार्मिक र आर्थिक हो  ।

सृष्टि भन्छिन्, ‘पूजा गरेर भर्खरै घरबाट निस्किएँ । गाईको मासुको सुगन्ध लिएको त्यो सडकमा कसैले नाक मिचिरहेको देखे पनि समस्या हुन्छ।’

त्यसोभए के तपाई आफ्नो पुरै जीवन यसरी डराएर बिताउनुहुन्छ?  यो प्रश्नमा उनी भन्छिन् ‘होइन । मसँग डिग्री छ । विदेश जान्छु । म शोधकर्ता बन्छु ।  साँझको दुई सिफ्टमा ट्युसन पनि पढाउँछु । म डेढ वर्षमा देश छोड्छु ।’

सृष्टि ती ०.५ प्रतिशत हिन्दु केटीहरू मध्ये एक हुन् जसले स्नातकोत्तर गर्न सक्छिन् । त्यसैले विदेश जाने सपना देख्छिन् । तर, विद्यालयभन्दा अगाडि बढ्न नसक्नेहरूलाई के गर्ने ? अभिभावक जतिसक्दो चाँडो विवाह गरिदिन चाहन्छन् । जसले गर्दा उनीहरु धर्म परिवर्तन, बलात्कार वा जबर्जस्ती गाईको मासु खुवाउने जस्ता घटनाबाट बच्न सकुन् ।

२०२३ को सरकारी तथ्याङ्कले देशभर ६६ हिन्दु केटीहरू बलात्कृत भएको र ३३३ महिलाहरूलाई जबरजस्ती गाईको मासु खुवाइएको देखाउँछ । यी दर्ता भएका मुद्दा मात्र हुन् । बंगलादेश अल्पसंख्यक आयोगको अध्ययनअनुसार धर्मको नाममा अल्पसङ्ख्यकमाथि हुने अपराधका ८० प्रतिशतभन्दा बढी घटना प्रहरीसम्म पुग्दैनन् । पुगे पनि अदालतबाहिर बस्छन् ।

ढाका विश्वविद्यालयमा एउटा ठाउँ छ– जगन्नाथ हल । यहाँ एक छात्रावास छ, जुन गैरमुस्लिम विद्यार्थीहरूलाई मात्र व्यवस्था गरिएको छ । चोकमा ४० फिट अग्लो शिव मन्दिर छ । पोखरी छ । एउटा सानो कोठामा इस्कोन मन्दिर छ । यो ठाउँलाई बंगलादेशमा हिन्दुहरूको लागि सबैभन्दा सुरक्षित स्थान मानिन्छ । सन् १९७१ मा पाकिस्तानी सेनाको दमनकाविरुद्ध स्वतन्त्रता संग्राममा हाम फालेका सयौँ व्यक्तिहरूको सालिक पनि यहाँ राखिएको छ । जसमा हिन्दु, इसाई र बौद्ध धर्मावलम्बीहरू पर्छन् ।

तर आज ५२ वर्ष बितिसक्दा पनि सालिक मात्र बनेका छन् । बंगलादेशलाई स्वतन्त्र गर्न उनीहरूले गरेका बलिदानहरूले यहाँ बसोबास गर्ने अल्पसंख्यक विद्यार्थीहरू बिना निडर पूजा गर्न सक्ने अवस्था छैन ।

२०२१ मा यहाँ विद्यार्थीहरूले मिलेर सरस्वती पूजाको आयोजना गरेका थिए । मुस्लिम विद्यार्थी पनि सहभागि  थिए । तर, त्यही विश्वविद्यालयका मुस्लिम विद्यार्थीहरूको समूहले आक्रमण गरेको थियो । यी घटनाबारे यहाँका विद्यार्थी निलयकुमार विश्वास भन्छन्, ‘यसको पछाडि राजनीतिक नियत थियो । अहिले पनि भइरहेका घटनाका राजनीतिक कारण छन् ।’ 

स्नातकोत्तर गरेपछि के गर्ने ? निलयकुमार भन्छन्, ‘उच्च शिक्षाका लागि विदेशका धेरै विश्वविद्यालयमा छात्रवृत्ति पाउन खोज्दै छु ।’ वास्तवमा हिन्दुमाथि आक्रमण हुनुको कारण धर्म मात्र होइन । बरु धर्मको नाममा हुने राजनीति हो । दोस्रो कारण विशुद्ध आर्थिक हो, जसमा धर्मलाई आवरणको रूपमा प्रयोग गरिन्छ । 

वर्षौँदेखि बंगलादेशमा अल्पसङ्ख्यकहरूको लागि काम गर्दै आएका अनुसन्धान र सशक्तीकरण संस्थाका अध्यक्ष प्राध्यापक चन्दन सरकार भन्छन्, 'बंगलादेशमा हिन्दुहरूको आर्थिक अवस्था राम्रो छ, तर सामाजिक अवस्था खराब छ। असुरक्षाको भावना उत्कर्षमा छ । हरेक पाइलामा संघर्ष छ ।'

बंगलादेश माइनोरिटी वाचका अध्यक्ष र सर्वोच्च अदालतमा अधिवक्ता रवीन्द्र घोष भन्छन्,  'जब हामी सन् १९७१ अघि स्वतन्त्रताको लागि लडिरहेका थियौं, तब पनि पाकिस्तानी सेनाले अधिकतम २० लाख हिन्दुको हत्या गरेको थियो। त्यसपछि हामी स्वतन्त्र भयौँ तर हिन्दुको हत्या आज पनि जारी छ । यसमा भारतले पनि हस्तक्षेप गरोस् भन्ने हामी चाहन्छौँ ।'

 कुमिल्ला ढाकाबाट १०० किलोमिटर टाढा जिल्ला हो । यहाँ २०२१ मा दुर्गा पूजाको बेला १० हजार मानिसको भीडले हिन्दुहरूको घर, पसल र मन्दिरलाई निशाना बनाएको थियो । ६ जनाको ज्यान गयो । सयौँ मानिस घरबार छोडेर भागेका छन् । स्थिति यस्तो बन्यो कि केन्द्रीय फौज तैनाथ गर्नुपर्यो । यहाँका उच्च प्रहरी अधिकारीहरूलाई हटाइयो । त्यसपछि २०२२ मा नोरियाल जिल्लामा दुर्गा पूजाका क्रममा सोही ढाँचामा हिंसा भएको थियो ।

सयौँ मानिस आफ्नो घर छाड्न बाध्य भए । पछि यहाँका प्रहरी प्रमुखलाई पनि हटाइयो । बंगलादेशी सञ्चारमाध्यममा हिंसाको समाचार छापिएको छ । तर, यी दुई जिल्लाका प्रहरी प्रमुखहरू हिन्दु थिए भन्ने उल्लेख छैन । 

कुमिल्लानोरियालमा भएका घटनामा हिंसा भड्काउनु अघि हिन्दु धर्मको निन्दा गरेको आरोप लागेको थियो । प्रहरी अधिकारीले हिन्दुलाई समर्थन गरेको आरोप लगाए । त्यसैले यी जिल्लाहरूमा अतिवादीहरू आफ्नो योजनामा सफल भए ।

विभिन्न स्रोतहरुको सहयोगमा

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:५३
Weather Update