News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटलहरू, भवनहरू र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरूको वैधानिकता खोजी गर्नुपर्ने बताइन् । 

‘देशभर बनाइरहेका होटलहरू, भवनहरू, अपार्टमेन्टहरूको वैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाइकन यसको छानबिन प्रक्रिया अघि बढाइयोस्,’ उनले माग राखिन्, ‘दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन् । उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए । 

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिइन् । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:४७
Weather Update