News Griha :: न्यूजगृह
नारायणकाजी श्रेष्ठ चिनियाँ राजदूतसँग लुम्बिनी सयरमा, परराष्ट्रलाई छैन जानकारी

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार चिनियाँ राजदूत चेन सोङसँग लुम्बिनीमा भ्रमणमा छन् ।

वरियताक्रममा तेस्रो स्थानमा रहेका मन्त्री श्रेष्ठले प्रोटोकललाई लत्याएर विदेशी राजदूतसँग भ्रमणमा गएको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

पूर्वमन्त्री जेपी गुप्ताले माइक्रो ब्लगिङ साइटमा श्रेष्ठको आलोचना गर्दै ट्वीट लेखे, ‘नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुदाँ उनका मन्त्रालयको अनुमति नलिई कुनै कर्मचारी वा दलका नेताहरू विदेशी कूटनीतिज्ञहरूसँग भेट्न नपाउने कडा प्रोटोकल जारी गरेका थिए । आज स्वयम् चिनियाँ राजदूतको लुम्बिनी भ्रमण चलाएका छन् । उनी संस्कृति वा पर्यटन सम्बद्ध मन्त्री पनि हैनन् । यस्तै चलेको छ !’ 

यस्तै, दि काठमाण्डु पोस्टका पत्रकार अनिल गिरीले पनि श्रेष्ठको भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । उनले ट्वीटमा भने, ‘नेपालका उपप्रधानमन्त्रीसँगै एकजना विदेशी राजदूत ! के हामीले हाम्रो प्रोटोकल र कूटनीतिक शिष्टाचार त्यागेका हौँ ?’

narayankaji-lumbini21681293586.jpg

चिनियाँ राजदूत सोङले पनि आफ्नो आधिकारिक ट्वीटरह्याण्डलबाट ट्वीट गर्दै मायादेवी मन्दिर, तिलौराकोट कपिलवस्तु र चिनियाँ मन्दिरको दर्शन गर्न पाउँदा सम्मानित भएको बताउँदै मन्त्री श्रेष्ठसँगको तस्बिर साझा गरेका छन् । उनले ट्वीटमा भने, ‘लुम्बिनीको मायादेवी मन्दिर, तिलौराकोट कपिलवस्तु र चिनियाँ मन्दिरको दर्शन गर्न पाउँदा धेरै सम्मानित महसुस गरेको छु । लुम्बिनीमा संस्कृति, धर्म र पर्यटनमा चीन र नेपालबीच थप सहयोगका अवसरहरू खोज्नेछौँ ।’

पूर्वमन्त्री गुप्ताले भनेझैँ उपप्रधानमन्त्री श्रेष्ठ संस्कृति मन्त्री पनि होइनन् । तर, राजदूतलाई घुमाउन उपप्रधानमन्त्री नै किन चाहिने ? फेरि यस्ता भ्रमणको लागि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएका छन् कि छैनन् भनेर गम्भीर प्रश्न उठेको छ । यसबारेमा परराष्ट्र मन्त्रालयसँग जिज्ञासा राख्दा प्रवक्ता सेवा लम्सालसँग सम्पर्क हुन सकेन । मन्त्री श्रेष्ठको अचानक भएको भ्रमणको बारेमा मन्त्रालयले कुनै जानकारी समेत दिइएको छैन । मुलुक डेढ महिनादेखि परराष्ट्रमन्त्री विहीन छ ।

भूराजनीतिक चलखेल भइरहँदा उपप्रधानमन्त्री जस्तो गरिमामय पद बोकेको व्यक्तिले विदेशी राजदूतसँग यसरी घुम्न जाँदा त्यसले हाम्रो कूटनीतिमा कस्तो असर पर्ला ?

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:४१
Weather Update