
काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको १९ सिटको बाँडफाँट टुंगिएको दाबी गरेका छन् । आइतबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँट टुंग्याएको दाबी उनको छ ।
बैठकपछि बालुवाटारमा पत्रकारहरूसँग उनले कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिटमा उम्मेदवारी दिने बताए ।
बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई सिट लिन गरेको आग्रह समाजवादीले अस्वीकार गरेको छ । ‘तीन सिटको हाम्रो दाबी यथावत् छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘उहाँहरूले दुई सिटमात्रै दिनसक्ने बताएपछि लौ जे गर्नुछ तपाईंहरू नै गर्नुस् भनेर हामी उठेर हिँड्यौँ ।’
तर गठबन्धनका कांग्रेस र माओवादी भने नेपालले आफ्नो सचिवालयलाई २ सिट लिने विषयमा सहमत गराउनेमा विश्वस्त रहेको स्रोतको भनाइ छ । ‘अहिले उहाँहरू उठेर जानुभएको छ, माधव नेपालले २ सिट लिनेमा आफ्ना नेताहरूलाई सहमत गराएर आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ कांग्रेसका एक नेताले भने । समाजवादीले सिटमा टुंगो नलगाएकाले बागमती, गण्डकी र कर्णाली प्रदेशको सिट र क्लष्टरको भागबन्डा मिलेको छैन ।
उपाध्यक्ष पाण्डेका अनुसार अब के गर्ने भन्नेबारे सचिवालय बैठकले निर्णय गर्ने बताए । समाजवादीको सचिवालय बैठक अहिले सुरु भएको छ ।