
काठमाडौं— सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थल मै मृत्यु भएको थियो ।
उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, झन्डै ४० घण्टासम्म पनि उनको शव सोही ठाउँ मै छ। सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ ।
आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव अहिले (आइतबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफन्त र स्थानीयले नमान्दा अझैसम्म मृतक युवकको शव उठाउन नसकिएको बताए । ‘त्यस विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल भइरहेको छ,’ सीडीओ धमलाले भने, ‘यो मिटिङले कुनै निष्कर्ष दिने अपेक्षा छ।’
बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई शहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शय्यामा स्तरोन्नति, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको सालिक निर्माण गर्नुपर्ने माग गरेको छ ।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको बनाएर मधेस सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित कांग्रेसको नेतृत्वमा भएको आन्दोलनको क्रममा शुक्रबार दिउँसो गोली चल्दा बरहथवामा एक युवकको मृत्यु भएको थियो भने प्रहरीसहित १० जना घाइते छन् ।
आन्दोलन हिंसात्मक झडपमा परिणत भएपछि सरकारले शुक्रबार र शनिबार बरहथवा बजार क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । अवस्था सामान्य बन्दै गएपछि आइतबार बिहानदेखि भने निषेधाज्ञा हटाइएको सीडीओ धमलाले बताए ।
सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरिसकेको छ। त्यसैगरी घटनाको छानविनको लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति पनि गठन गरेको छ ।
घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको छ ।













