News Griha :: न्यूजगृह
जाजरकोट भूकम्प : रूपलालले मोबाइल बेचेर बुबाको शव निकाले 

जाजरकोट— जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्याङ्ग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् । 

शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका– १ रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । ओत लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए । दुई छाकको जोहो गर्नै धौधौ पर्ने परिवारका उनलाई एक्कासि भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो । 

घरको ओत छुटेपछि कर्णबहादुर नै परिवारको ओत बनेका थिए । तर उनलाई कति बेला चिसाले समात्यो ? पत्तै भएन । करिब एक साता चिसोका कारण बिरामी परेका उनी निमोनियाको शिकार बनेका छन् ।

शुक्रबार जिल्ला अस्पतालमा उपचार नभएर रेफर भएका उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पुऱ्याउँदा उपचार गर्न ढिला भइसकेको थियो । कडा खालको निमोनिया भएको भन्दै चिकित्सकले मृत घोषणा गरेको छोरा रुपलाल विश्वकर्माले बताए । ‘त्रिपालमुनिको बास छ, सबैलाई चिसो त लागेकै छ । तर बेलामा उपचार गर्न पनि सकिएन,’ रुपलालले भने, ‘घर भत्किएपछि बुबा नै हाम्रो घर हुनुहुन्थ्यो । अब त हाम्रो पो झन् विचल्ली हुनेभयो ।’

प्रादेशिक अस्पतालमा मृत्यु भएका कर्णबहादुरलाई उपचारका लागि पैसाको समस्या थियो । छोरा रुपलालले मोबाइल बेचेर बुबाको शव निकालेर ल्याएको बताए ।

जाजरकोट भूकम्पपछि ३७ जनाको मृत्यु भइसकेको छ । कात्तिक १७ मा भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समेत गरी १५३ जनाको मृत्यु भएको थियो ।

भूकम्पको लामो समय बित्दा पनि त्रिपालमुनि बस्न बाध्य पीडितहरूले अस्थायी टहरो खडा गर्न सकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:२५
Weather Update