News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् । 

‘यस्तो मान्यता स्थापना गर्ने कोसिस गरियो कि नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ति हो भन्ने अर्थमा व्याख्या गर्ने कोसिस भयो,’ उनले भने, ‘क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भन्ने मान्ने हो, सैह्य हुँदैन भन्ने बदल्ने हो । संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन ।’

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले संविधान नमान्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे । ‘संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने,’ उनले भने, हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने । यो भन्दा अर्को मजाकको विषय के हुनसक्छ ?’

नेकपा एमालेले पनि बेलाबेलामा संविधानमा हस्ताक्षर नगरेका दलहरूसँग सहकार्य गर्ने गरेको छ । संविधानमा हस्ताक्षर नगरेका उपेन्द्र यादव नेतृत्वको दलसँग एमालेले पछिल्लाेपटक चुनावमा केही सिटका लागि र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सत्ता सहकार्य गरेको थियो । 

महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोसिस भइरहेको बताए । उनले घोषित रूपमा संविधान नै नमान्ने पार्टीहरूसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताए । 

महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाए । 

महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरू भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गरे । नेकपा एमाले सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताए । उनले सत्तारूढ दलहरूले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाए । उनले राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको बताए । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:१७
Weather Update