News Griha :: न्यूजगृह
सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो

काठमाडौं— भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ ।

भारतले ५ अगस्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १ आफ्नो गन्तव्यमा पुगेको छ । यसले हाम्रा वैज्ञानिकहरूको प्रयासले कठिन आन्तरिक अभियानलाई बास्ताविकतामा बदल्दै छ भन्ने देखाउने छ ।’ 

यो भारतको पहिलो सूर्य मिसन हो । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थचाहिँ पृथ्वी र सूर्यको यस्तो बिन्दुको हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुवैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन । त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ ।

यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ । भारतीय अन्तरीक्ष यान कुल ७ वटा ‘पे लोड’ लिएर गएको छ । यसले फाटोस्फेयर र क्रोमोस्फेयर नामले चिनिने सूर्यको सबभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ ।

यसले अन्तरीक्षको मौसमबारे पनि अध्ययन गर्ने छ । अन्तरीक्षमा आउने सौर्य आँधी र त्यसको कारण पत्ता लगाउने कोसिस गर्नेछ ।एक पटक आफ्नो कक्षमा स्थापित भएपछि यसले सूर्यलाई निरन्तर र प्रष्ट रुपमा अवलोकन गरिरहन सक्ने भारतको अन्तरीक्ष अनुसन्धान निकाय इसरोले बताएको छ ।

उसले भनेको छ, ‘यसले सौर्य आँधीलाई नजिकबाट अध्ययन गर्ने र रियल टाइममा अन्तरीक्षको मौसममा के असर पर्छ भनेर जानकारी दिने छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:४५
Weather Update