News Griha :: न्यूजगृह
जसपा अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव- प्रदेश खारेज गरि पुनःसंरचना गरौँ

काठमाडौं— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन् । संघीय गणतन्त्र र धर्म निरपेक्षताका विरोधीहरू मैदान मै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन् । 

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुने देखेर त्यसका विरोधी सक्रिय भएको बताए । सबैको पहुँचका लागि समावेशिता आवश्यक रहेको र यसका लागि संघीय प्रणालीको विकल्प नभएको जिकिर उनले गरे ।  

उनले भने, ‘राज्यको संरचनामा सङ्घीयतामा जानुपर्ने कारण के हो भने विविधतालाई एकात्मक शासन प्रणाली सम्बोधन गर्न सकेन । संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुन्छ र दुनियाँका धेरै मुलुकहरूले त्यस्ता सम्बोधन गर्न सफल भएकाले संघीयता ल्याएका हौं । तर अहिले संघीयता, गणतन्त्र, यो दुई वटा कुराको विरुद्धमा र धर्मनिरपेक्षताका विरुद्धमा मैदानमै उत्रेर लागेका छन् ।’  

उनले समावेशिताको हालत धमिराले भित्रभित्रै बाँसलाई खाएर कुहाएको जस्तो रहेको टिप्पणी गरे । संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउन प्रदेश खारेज गरी पुनः संरचना गर्नुपर्ने उनको भनाइ थियो ।  

उनले भने, ‘समावेशितालाई भित्रभित्रै धमिराले बाँसलाई खाँदाखाँदै भित्रभित्रै कुहाइ दिएको जस्तो हालत छ । त्यसैले समावेशिता संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जनताको मौलिक हक जस्ता महत्वपूर्ण अधिकारको रक्षा गर्दै संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउने र त्यही आधारमा राज्यलाई फेरि पुनःसंरचना गर्न सात वटा प्रदेश खारेज गर्ने काम गर्न सक्यौँ भने त्यही नै समाजवादको पूर्वाधार हो ।’

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:०६
Weather Update