काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वास्तविक मिटरब्याजी सरकार आफैंँ भएको आरोप लगाएका छन् ।
प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाईरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गरे ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ता भित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनीसमेत दिए ।
‘सरकार भन्छ–मिटरब्याजीको समस्या समाधान भयो । हिजो मात्रैको घटना हो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरू झुण्डिन तयार छन्,’ उनले भने, ‘सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्छु भनेर वास्तविक मिटरब्याजी यो सरकार हो ।’
‘नेपाल सरकारले अहिले फिक्स डिपोजित मात्रै, राज्यको पैसा मात्रै २ खर्व ११ अर्व रुपैयाँ फिक्स डिपोजिट गरेको छ । झण्डै सरकार बचत आज निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्व ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ । अहिले पनि सरकारले ८ दशमलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर आज दिइरहेको छ र अहिले झण्डै सय जना भन्दा बढी मान्छेहरू अहिले बेलैमा बैंकको ब्याज तिर्न नसकेर आज मृत्युवरण गरिराख्नु परेको छ,’ उनले थपे, ‘म अहिले सरकारलाई भन्न चाहन्छु– वास्तविक मिटरब्याजी को हो ? आज वास्तविक मिटरब्याजी यो सरकार भएको छ ।
‘पछिल्लो तथ्यांकलाई मात्रै हेर्ने हो भने यो ८ महिनामा चालु खर्च मात्रै सरकारले ५१ दशमलव ४६ प्रतिशत, पूजिगत खर्च २२ दशमलव १५ प्रतिशत र व्यवस्थापन खर्च३७ दशमलव ४१ प्रतिशत गरेको छ । भएभरको पैसा असारमा मात्रै खर्च गर्ने पूँजीगत खर्च ७८ प्रतिशत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने, बैंकमा ब्याज खाने, अनि मिटरब्याजी अरुलाई भन्ने । वास्तविक मिटरब्याजी कोही छ भने सरकार छ ।’
प्रमुख सचेतक शाहीले बैकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई पटकपटक सचेत गराए ।