News Griha :: न्यूजगृह
सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने  
फाइल तस्बिर ।

काठमाडौं— सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार ४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए ।  

शनिबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक पश्चात ४ बजे पुनः बैठक बस्ने र ५ बजे सरकारमा सहभागी एवम् सरकारलाई सहयोग गरिरहेका दलहरूबीच पनि बैठक बसेर निर्वाचनका बारेमा टुङ्गो लगाउने लेखकले बताए । 

उनले भने, ‘सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भएको छ, राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयमा र आज फेरि ४ बजे पुनः बैठक बस्ने कुरा भएको छ । ५ बजे सरकारमा सहभागी सबै दलहरू र सरकारलाई सहयोग गरि रहेका दलहरूको पनि बैठक गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा टुङ्गो लगाउने निर्णय भएको छ ।’  
यस्तै उनले सत्ता गठबन्धनले सदाशयतापूर्वक सबैसँग मिलेर जाने भन्नेमा थियो तर एमालेसँग कुरा नमिलेपछि अब सत्ता गठबन्धन मिलेर चुनाव लड्ने बताए ।  

‘एउटा बृहत् लोकतान्त्रिक धारणाका साथ जान सत्ता पक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय सभाका निम्ति मिलेर अघि बढ्न सकिन्छ भनेर छलफल भइरहेको थियो तर त्यस्तो सम्भावना टरेकैले गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुनेछ,’ लेखकले भने । एमालेले शुक्रबार नै राष्ट्रिय सभा निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:२६
Weather Update