News Griha :: न्यूजगृह
सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं— सर्लाहीको बरहथवामा कर्फ्युको समय शनिबार बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ । बरहथवा नगरपालिका ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा  सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा छ । स्थानीय प्रशासनले स्थानीय राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ ।

मृतक स्थानीय होटेल सञ्चालक तथा कुखुरा दानाका होलसेल बिक्रेता हुन् । प्रहरीले पनि उनी आन्दोलनकारी नरहेको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बुझिन आएको स्वीकारे । तर, आन्दोलनकारीले हतियार थुत्ने बेला गोली चलेर उनलाई लागेको हुन सक्ने बताउँदै उनले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

घटनालाई लिएर सर्लाहीका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । सर्लाहीको कविलासी, सलेमपुर लगायत ठाउँमा प्रदर्शन जारी छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:४४
Weather Update