
काठमाडौं— सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ ।
सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।
द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ मा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाऊँ भनी निवेदन दिएका थिए ।
लामो समयदेखि सर्वोच्चमा अडकिएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए ।
त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।