News Griha :: न्यूजगृह
एमालेलाई सिट दिने विषयले सत्ता गठबन्धनमा खटपट

काठमाडौं— राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिटको भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सामेल गर्ने प्रस्तावले सत्तारुढ गठबन्धनमा खटपट पैदा भएको छ ।

गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले भागबन्डाबारे छलफल गर्न बिहीबार साँझ बोलाइएको बैठक नै बहिष्कार गरेका छन् । 

एमालेलाई भाग दिने विषयले चिढिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बिहीबार साँझको बैठकमा गएनन् ।

बेलुका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू मात्रै छलफलमा जुटेका थिए । 

एमालेसँग भागबन्डा गरेर राजनीतिक रुपमा कुनै लाभ नहुने र एमालेले सधैँ धोका मात्रै दिने गरेको भन्दै नेपाल र यादवले एमालेलाई गठबन्धनमा सामेल नगराउन लबिङमा छन् । 

तर गठबन्धनका दुई ठूला घटकहरू कांग्रेस र माओवादी केन्द्र भने एमालेलाई साथ लिएर जाँदा राजनीतिक रुपमा एकैसाथ धेरै वटा मुद्दामा ‘सेफ ल्यान्डिङ’ हुने आशमा छन् । 

बुधबार बसेको गठबन्धनका चार दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि साथै रहन चाहेको सुनाएका थिए । त्यसबेला सिट सङ्ख्याको कुरा भएको थिएन । 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भनेका थिए, ‘राष्ट्रिय सभाको भागबन्डामा एमालेले पनि आश राखेको देखियो । तर एमालेको अपेक्षा के कति हो रु प्रष्ट भएन । प्रधानमन्त्रीजीलाई त्यसबारे प्रष्ट प्रस्ताव लिएर आउन जिम्मेवारी दियौँ ।’ 

प्रधानमन्त्री दाहालले बिहीबार बिहान बसेको बैठकमा त्यही जिम्मेवारी पूरा गर्दै सुनाएका थिए, ‘एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा ६ सिट मागिरहेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसहित राष्ट्रिय मुद्दाहरूमा एमालेलाई साथै लिएर हिँड्नुपर्ने बाध्यता छ ।’ 

एमालेले ६ सिट मागेको प्रस्ताव भुँइमा झर्न नपाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए । ‘एमालेलाई सङ्क्रमणकालीन न्यायलाई टुंग्याउन साथ दिने भनेरै तीन वटा समितिको सभापति दिइयो । तर सभापति चुनेकै महिनौँ भइसक्यो, एमालेले कतै साथ दिएको देखिएन, विधेयकमा समस्या जहाँको त्यही छ,’ नेपालले अघि भने, ‘राष्ट्रियसभामा ६ सिट मागेर फेरि अल्मल्याउन खोजिरहेको छ, तपाईँहरू बुझ्नुहुन्न ।’

बैठकमा सहभागी एक नेताका अनुसार जसपाका अध्यक्ष यादवले पनि एमालेलाई गठबन्धनमा छिर्ने मौका दिनु नहुनेमा जोड दिएका थिए । कांग्रेसभित्र पनि त्यस्तै मत छ । 

‘पहिले राष्ट्रपतिको निर्वाचनमा घुसेर हामीले उनीहरूको गठबन्धन तोडेका हौँ, अहिले एमालेलाई मौका दियो भने उसले यो गठबन्धन नै तोडिदिन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘एमालेलाई गठबन्धनमा घुस्ने मौका दिन हुँदैन भनेर सभापतिजीलाई भनिरहेका छौँ ।’

सभापति देउवाले पार्टीमा कुनै छलफल नै नगरी गठबन्धनका छलफल गइरहेको भन्दै कांग्रेसमा असन्तुष्टि चुलिँदो छ । देउवाले प्रधानमन्त्री दाहालको लहैलहैमा एमालेलाई गठबन्धनमा सामेल गराउँदा त्यसले सरकारमा पनि क्षति पुग्न सक्ने बारे सजग रहनुपर्ने नेताहरूको भनाइ छ ।

कांग्रेस नेता शेखर कोइरालाले भने गठबन्धनमा राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबन्डा गर्ने विषयमा तीन दलका शीर्ष नेताहरूको स्वार्थ प्रष्टसँग झल्किएको बताएका छन् ।

‘यो भागबन्डाका पछिको कारण स्पष्टै छ,’ कोइरालाले सामाजिक सञ्जालमै लेखेका छन्, ‘सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । एमाले दुई/चार सिट पाए जे मा पनि हवस् भन्ने अवस्थामा पुगेको छ ।’ 

गठबन्धनका शीर्ष नेताहरूको गलत कार्यप्रतिको भयबाट एमालेले लाभ उठाएको कांग्रेसका संस्थापन इतरपक्षका नेताहरूको आरोप छ । 

यसअघि कोशी प्रदेशमा सरकार गठनका बेला नेता कोइरालाले एमालेसँग तालमेल गरेपछि सभापति देउवा र प्रधानमन्त्री दाहाल राष्ट्रिय सभा सदस्य निर्वाचनमा फेरि त्यस्तै हुने त्रासमा समेत छन् ।  

त्यसो त एमालेले पनि सत्ता गठबन्धनसँग मात्रै होइन, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग अलगअलग छलफलसमेत गरिरहेको छ । 

‘एमालेलाई जसरी पनि अहिलेको गठबन्धन टुटाउनु छ । त्यसका लागि जे गर्न पनि तयार देखिएको छ,’ कांग्रेसका अर्का एक नेता भन्छन्, ‘यो त्यसैको शृङ्खला हो ।’ 

सत्ता गठबन्धनले यसअघि संसदीय समितिको सभापतिको निर्वाचनमा पनि एमालेलाई तीन समितिको सभापति दिएर भागबन्डा गरेको थियो । 

‘प्रतिपक्षमा रहेको दलले पाउने भनेको लेखा समितिको सभापतिमात्रै हो । तर यसपटक इतिहासमै नभएको सहमति भयो, तर संसदीय समितिका सभापतिको समेत भागबन्डा भयो,’ ती नेता भन्छन्, ‘एमालेले त्यहाँबाट गठबन्धनमा खेल्न थालिसकेको छ ।’ 

कांग्रेसका केही नेताहरू भने कम्युनिष्ट दलहरू फेरि एकताबद्ध भइहाल्ने हुन् कि भन्ने भयमा देखिन्छन् । कम्युनिष्ट एक भए सत्ताबाट बाहिरिनुपर्ने डर उनीहरूमा छन् । 

त्यसो त एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि आफ्नो प्रधानमन्त्री बन्ने पालोको सुनिश्चितता खोजिरहेका छन् । एमालेसँग मिलेर प्रधानमन्त्री नपाउने निश्चितजस्तै भएकाले उनी गठबन्धनलाई कायम राखेर आफ्नो पालोमा प्रधानमन्त्री हुने लोभमा छन् । 

त्यसमाथि भागबन्डामा एमाले पनि सामेल भए आफूहरूले पाउने सिट संख्या घट्ने एकीकृत समाजवादी र जसपाको बुझाई छ । राष्ट्रिय सभामा १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ भने त्यसकालागि आगामी सोमबार उम्मेदवारको मनोनयन हुँदैछ । 

उम्मेदवार टुंगो लगाउनुअघि भागबन्डा मिलाउन दलहरू सक्रिय रुपमा छलफलमा छन् । सबैजसो शीर्ष दलले पार्टीभित्र समेत त्यसबारे छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेसले शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमाले सचिवालय बैठक शुक्रबार नै बस्दैछ । एकीकृत समाजवादीले पनि शुक्रबार सचिवालय बैठकमा त्यसबारे छलफल गर्दैछ । 

‘एमालेसमेतसँग भागबन्डा गर्दा कसरी जाने ? एमालेबाहेकमा भागबन्डा गर्दा कसरी जाने रु दुवैतर्फबाट सहमतिको खोजी भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:००
Weather Update