सुनसरी— नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।
‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ,’ अध्यक्ष नेपालले भने, ‘त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौंँ ।’
एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।
नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया रहेको बताए ।