
काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लापरबाहीले दसैँ र तिहारमा नबिकेका मध्ये २० वटा च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेका छन् ।
कम्पनीले दसैँ तिहारमा बेच्न ल्याएका सबै च्याङ्ग्रा बिक्री भएका थिएनन्। दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रा मध्ये २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ ।
कम्पनीले दसैँ तिहारका लागि सहुलियत मूल्यमा बिक्री गर्न ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । बुधबार साँझसम्म स्वस्थ रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् ।

उनले दसैँ तिहार र छठसम्म बेचेर कम्पनीसँग बाँकी रहेका ४७ वटा च्याङ्ग्रा मध्ये २० वटा बिहीबार मरेको बताइन् । उनका अनुसार बुधबार साँझ स्वस्थ रहेका च्याङ्ग्रा बिहान मरेको अवस्थामा पाइएको थियो ।
उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको दाबी गरेकी छन् ।
उनले २० वटा च्याङ्ग्रा मरेको बताइन्। ‘अब के भएर मरेको रहेछ भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ। सिसिटिभी फुटेज हेर्दा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ‚’ उनले थपिन्‚ ‘किनेको मूल्यभन्दा कममा बिक्री गर्न नमिल्ने कारणले पनि लामो समयसम्म बिक्री नभएको हो।’ उनले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताइन्।
केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी शाहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए । उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए । उनले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको पनि बताए ।
दसैँमा ल्याइएका ५४२ वटामध्ये ४७ वटा च्याङ्ग्रा नबिकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिदबिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरे पनि अपेक्षाअनुसार बिक्री नहुँदा बाँकी रहेका च्याङ्ग्रा कम्पनीले नै पालिरहेको थियो ।













