News Griha :: न्यूजगृह
ज्यान मार्ने धम्की दिई रकम माग्ने पक्राउ 

काठमाडौं— फोनबाट ज्यान मार्ने धम्की दिँदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका- ८ का ३४ वर्षीय श्रीभगवान साह छन् ।

उनले पुस १० गते देखि १८ गतेसम्म मोबाइल नम्बर ९८०१५७... बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिई ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एलिजा गिरीले बताइन्।

पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलाई पक्राउ गरेको डीएसपी गिरीले बताइन ।

‘साहलाई आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा पक्राउ गरेका छौं,’ प्रवक्ता गिरीले भनिन, ‘घटनामा अन्य पनि संलग्न व्यक्तिहरूको पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको छ ।’

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:१२
Weather Update