News Griha :: न्यूजगृह
१० वर्षीया बालिकामाथि पटकपटक बलात्कार, ५५ वर्षीय पुरूष पक्राउ

काठमाडौं— १० वर्षीया नाबालिगलाई बलात्कार गरेको अभियोगमा मोरङको सुन्दरहरैँचाबाट ५५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले बुधबार राति घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्थे । बालिकाका बुबा रोजगारीका सिलसिलामा विदेश छन् । आमा पनि दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । 

यसरी अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको मोरङ डीएसपी दाहालले बताए । ‘अभिभावक कोही पनि नभएको अवस्थामा शौचालय नजिकको खाली जग्गामा लगेर बलात्कार गरेको पाइएको छ,’ दाहालले भने ‘मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको पत्ता लागेको छ ।’ 

मगरले बुधबार दिउँसो बालिकालाई हातमा समातेर तान्दै गरेको हजुरआमाले देखेपछि यो घटना बाहिर आएको हो । ‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइ छन् । त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’ डीएसपी दाहालले भने, ‘यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको रहिछन् ।’

बारम्बार बलात्कारको पीडामा परेकै कारण नाबालिगमा विभिन्न स्वास्थ्य समस्या देखिएको प्रहरी भनाइ छ। निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने समस्या बालिकामा छ । उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:५९
Weather Update