
काठमाडौं— राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेले आफूलाई ६ सिट दिन प्रस्ताव गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए ।
‘केपीजीले सुरुमा एमालेबाट ९ जनाको पदावधि सकिन लागेकाले ९ जना नै एमालेले पाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो, मैले ३ जनासम्म सकिन्छ भनेपछि उहाँले ६ सिटको दाबी गर्नुभयो,’ बिहीबार बिहान बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङमा उद्धृत गर्दै स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रचण्डले ब्रिफिङ गर्ने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध गरे । प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालको तर्क थियो । नेपालको फरक मतका कारण सहमति हुन नसकेपछि बैठक टुङ्गोमा पुग्न नसकेको स्रोतको भनाइ छ ।
राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन छ। त्यसअघि नै सिट भागबण्डा मिलाउनका लागि दलहरू दिनदिनै छलफलमा छन् ।