News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान काठमाडौं आएलगत्तै विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशङ्कर काठमाडौं आएका हुन् । 

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम  गर्न जरुरी रहेको बताएका थिए ।

उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए ।

सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:०६
Weather Update