
काठमाडौं— भारतका विदेशमन्त्री एस जयशङ्कर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् ।
नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मन्त्री जयशङ्करले आज नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ ।
दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशङ्करले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
जयशङ्कर शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने कार्यक्रम छ । दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने दूतावासले जनाएको छ ।