News Griha :: न्यूजगृह
अध्यागमनका कर्मचारी किन भए प्रहरीसँग असन्तुष्ट? 

काठमाडौं— अध्यागमनको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोकेका छन् ।

असन्तुष्टिलाई लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरू गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान नै डिले हुने गरी उहाँहरु आउनु भएको होइन ।’

तामाङका अनुसार, कर्मचारीहरूले अध्यागमनको नाममा धेरै निकायका कर्मचारीले आएर कागजात लिने र दोषजति सबै अध्यागमनका कर्मचारीलाई लगाउने प्रवृत्ति देखिएको भन्दै गुनासो गरेका छन् । कर्मचारीहरूले महानिर्देशक तामाङलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा उनीहरूले भिजिट भिसाको नाममा अध्यामगन अधिकृतको मात्रै जिम्मेवारी हो भन्ने अवस्था सिर्जना भएको भन्दै भनेका छन्, ‘नियमानुसार भिजिट भिसामा प्रस्थान अनुमति दिई व्यक्तिको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारको सुनिश्चितता स्वरुप प्रस्थान अनुमति दिने कार्य गर्दा अध्यागमन अधिकृत मानव तस्करी हो भन्ने निष्कर्ष निकाल्ने हो भने यसलाई रोक्न  मन्त्रालय तथा विभागले हालसम्म किन तदारुकता नदेखाएको हो ?’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय चलाएको अपरेशनमा विभागका अधिकृतहरू पनि समेत छानबिनमा परेका थिए । एक जना पक्राउ परेका थिए भने एक फरार छन् । त्यहीबीच भन्सारका कर्मचारीहरूले असन्तुष्टि जनाएका हुन् ।

ज्ञापनपत्रमा यात्रुको राहदानी र भिसाको चेकजाँच गर्ने कानुनी अधिकार अध्यागमन अधिकृतलाई मात्र भएको अवस्थामा नेपाल प्रहरीबाट विमानस्थलको मुख्यद्वारमा समय समयमा कहिले मानव बेचबिखन ब्युरोको नाममा त कहिले अन्य युनिटबाट समानान्तर प्रकृतिको अध्यागमनको झल्को दिने गरी सेवाग्राहीहरूलाई सोही विन्दुबाट फिर्ता पठाउँदा अध्यागमन बदनाम हुने गरेको पनि भनिएको छ ।

‘..त्यस्ता गैरकानूनी क्रियाकलाप तत्काल अन्त्य गरियोस्, र यसअघि भएका उक्त गतिविधिको छानबिन गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २१:१९
Weather Update