
काठमाडौं— कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको छ ।
‘प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो ।
संघर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाईको माग गर्दै मंगलबार र बुधबार (आज) मेची राजमार्ग बन्दको आह्वान गरेको जनाएको छ ।

संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् ।
तर निजी तथा साना सवारीहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सो स्थानमा आन्दोलनकारीहरू बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।
सवारी साधन नचल्दा यात्रुहरू मर्कामा परेका छन् । किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आगजनी सम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई मंगलबार अदालतमा उपस्थित गराएको छ ।













