News Griha :: न्यूजगृह
२० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नोबेल अस्पतालका तीनजना कर्मचारी पक्राउ
नोबेल अस्पताल । फाइल तस्बिर

विराटनगर— नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् । 

अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् ।

अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।
अस्पतालमा संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरूले लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:०२
Weather Update