News Griha :: न्यूजगृह
बेरोजगार युवाहरूलाई विदेश पठाउने भन्दै १० करोड ठगी, ९९७ थान राहदानीसहित पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरूसँग ५ देखि १५ लाखसम्म लिएका थिए ।

उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरूले दिएको उजुरीमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शङ्करापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरूबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:१३
Weather Update