
दाङ— जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध गरेका छन् ।
सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो । भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो ।
ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए । लगत्तै उनीहरूले तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध गरेका थिए ।
पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिबीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो । मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी सडक अवरूद्ध गरेका हुन् ।विद्यार्थीहरूले सहमतिबारे जानकारी दिनुपर्ने माग राखेका छन् ।
प्रहरी स्रोतका अनुसार बस धनीले बीमाबापत पाँच लाख र थप पाँच लाख मृतक परिवारलाई दिने सहमति भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले विद्यार्थीलाई सम्झाउने प्रयास भइरहेको जानकारी दिए ।
बालकको शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टमको तयारी भइरहेको र त्यसपछि परिवारले शव बुझ्ने सहमति पनि भइसकेको छ ।













