News Griha :: न्यूजगृह
घलेगाउँका होमस्टे पर्यटकले खचाखच

लमजुङ— क्व्होलासोथर गाउँपालिका– ३ स्थित घलेगाउँका होमस्टे यतिबेला पर्यटकले भरिभराउ छन् । 

समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । अरु समयमा ४०/५० जना पर्यटक आगमन भइरहे पनि घलेगाउँमा नयाँवर्ष मनाउन पुग्ने पर्यटक बढेका छन् ।

अहिले दैनिक तीन/चार सयको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने उनले बताए । तीन सय जनाको क्षमता रहेको घलेगाउँ होमस्टेमा सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको घलेले बताए ।

होमस्टे सञ्चालक हेमकुमारी गुरुङकाअनुसारअहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ ।  उनीले पर्यटक आउने अहिलेको याममा  प्रति होमस्टेले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिइन् ।  

२०५७ देखि घलेगाउँमा होमस्टे सञ्चालनमा भएको हो । घलेगाउँमा ४२ वटा होमस्टे छन् ।   २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । 

घलेगाउँँ बाट ८ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल, ७ हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), ७ हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो) लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुग्ने पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् । 

घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक  हजार दुई सय ५० शुल्क लिइन्छ ।  

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:१७
Weather Update